मेचीनगर, २१ माघ । विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा र गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी रुपमा सञ्चालनका लागि शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ ।
मेचीनगर नगरपालिकाको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत बुधबार शिक्षकहरुसँग छलफल गरिएको हो ।
मेचीनगरका सामुदायिक विद्यालयका १७ जना प्रधानाध्यापक, १७ जना जेण्डर फोकल पर्सन शिक्षक, १७ जना सामाजिक र विज्ञान विषय पढाउने शिक्षकसहित ५२ जना सहभागी रहेको कार्यक्रमको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
‘हिंसाका विभिन्न प्रकारका रुपहरु छन्’,बुढाथोकीले भने–‘त्यसको सबै मिलेर अन्त्य नगरेसम्म यो रोकिनेवाला छैन् । यौनजन्य लगायतका हिंसामा संलग्नलाई समाजबाट बहिस्कार गर्नुपर्छ । सामन्तीवादी प्रवृद्वि र व्यवहारबाट देखिन्छ । चूनौतिहरु धेरै छन्, सामना गर्दै अघि बढ्नु पर्छ ।’
उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी विद्यार्थीलाई विद्यालयमा हुने जुनसुकै खालका हिंसालाई सुष्म तरिकाले निगरानी गरेर समस्याहरु पहिचान भए समाधान गरेर जानु पर्ने बताएका छन् ।
सहभागी शिक्षक, प्रधानाध्यापकहरुलाई लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, मनोसामाजिक परामर्श उपेन्द्र राजबंशी, सहजकर्ता पत्रकार अम्बिका भण्डारी लगायतले लैङ्गिक समानता, सामाजिक समावेशीकरण, लैङ्गिक हिंसा
न्यूनिकरणमा रहेका समस्या, सामाजिक सोच, मुल्य मान्यता, पुरुषहरुको भूमिका, ऐन कानुन र त्यसको कार्यान्वयन, उजुरी सयन्त्र, रोकथाम, प्रतिकार्य लगायतका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, शुक्रराज घिमिरे पनि विद्यालयमा गुणस्तरीय शिक्षाको प्रर्वद्धन र सुरक्षित सिकाई कसरी गर्न सकिन्छ भन्ने विषयमा चासो र चिन्ता व्यक्त गरेका थिए ।




Discussion about this post