
। अर्जुन कार्की ।
मेचीनगर, ७ फागुन । झापा–१ मा आफ्नो विरासत जोगाउने, भत्काउने र सुरक्षित राख्नेबीचको कडा प्रतिस्पर्धा हुँदैछ ।
प्रतिनिधिसभा सदस्य चुनाव आउन अब १४ दिन बाँकी हुँदा दलीय र स्वतन्त्र उम्मेदवार परिणाम आ–आफ्नो पक्षमा पार्न भ्याए सम्मका सबै अस्त्रहरु प्रयोग गर्न थालेका छन् ।
निर्वाचन आयोगले चुनाव प्रचारका लागि फागुन ४ गतेदेखि समय तोके पनि यसअघिदेखि उम्मेदवार घरदैलो र सामाजिक सञ्जालबाट मतदाताको मत बटुल्न व्यस्त थिए । उनीहरूको योजना विगतको नतिजा जोगाउने, भत्काउने र सुरक्षित राख्ने रणनीतिमा छन् ।
झापाको पाँच वटा क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । झापा–५ लाई चुनावको इपिसेन्टरको रुपमा हेरिएको छ । तर, झापा–१ पनि विगतमा हेभिवेटहरुले प्रतिस्पर्धा गरेको क्षेत्र भएकोले आफ्नो पोल्टामा मत सुरक्षित गर्न लागि परेका छन् ।
यहाँ पनि चुनावी रापताप बढ्दै गएको छ । पुराना, नयाँ दल र स्वतन्त्र उम्मेदवारले गर्दा चुनावी रौनक झन थपिएको छ ।
थोरै विगततिर फर्कउँ । २०४८ सालको निर्वाचनमा एमालेका राधाकृष्ण मैनाली, २०५१ सालमा देवीप्रसाद ओझा, २०५६ सालको निर्वाचनमा कांग्रेसका नेता नरेन्द्रविक्रम नेम्वाङ विजयी भए । २०६४ मा पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका धर्म घिमिरे निर्वाचित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा सदस्यको चुनावमा झापा–१ मा एमालेका तर्फका उम्मेदवार रविन कोइरालासँग ६८९ मतको अन्तरले कांग्रेसका विश्वप्रकाश शर्मा पराजित भएका थिए ।
यस्तै, २०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा मुख्य प्रतिस्पर्धी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टी र कांग्रेस नै थियो । नेकपाका तर्फबाट राम कार्कीले ३६ हजार १७३ मत ल्याएर विजयी भए । त्यतिबेला प्रतिस्पर्धी कांग्रेसबाट विश्वप्रकाश शर्मा थिए । उनले ३३ हजार ३१० मत मात्र प्राप्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्यका लागि २०७९ मंसिरमा भएको निर्वाचनमा झापा–१ बाट नेपाली कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मत ल्याई विजयी भएका थिए । त्यसबेला नेकपा एमालेका तर्फबाट प्रतिस्पर्धी अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत ल्याएका थिए । खरेलसँग शर्माको मतान्तर १४ हजार २७५ थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बनेका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत ल्याएका थिए । अन्य साना दलहरुले पनि थोरै थोरै मत ल्याए ।
गएको पालिका चुनावमा २१ वटा वडामध्ये एमालेले १४ वडा जितेको थियो । पालिका चुनावको मतको आधारमा एमाले पहिलो र बलियो शक्ति हो । गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम मत छ । पालिका चुनावको मतको आधारमा विश्लेषण गर्दा प्रतिस्पर्धीहरुलाई अनुकूल अवस्था छैन् ।
झापा क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा पर्छन् । त्यसबेला झापा–१ मा एक लाख २० हजार ३७५ जना मतदाता थिए ।
जसका कारण झापा क्षेत्र नम्बर १ सबैका लागि चासोको विषय बनेको छ । सबै एक्ला एक्लै लडेकाले अन्य दलको तुलनामा मत कम रहेकाले बल एमालेको पक्षमा देखिन्छ । पालिका चुनावमा एमालेले ३१ हजार २ सय ३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९ सय २२, माओवादीले ३ हजार ९ सय ५ र एकीकृत समाजवादीले १ हजार २ सय ५२ मत प्राप्त गरेको छ । मेचीनगरका १५ वडामध्ये ११ एमाले, ३ नेका र १ माओवादी केन्द्रले जितेका छन् ।
यसरी हेर्दा दलहरूले अघिल्लो नतिजाहरुका कारण कसैले उल्टाउने, कोहिले जोगाउने र केहिले सुरक्षित राख्ने पक्षमा रहेको देखिन्छ । जसले गर्दा यस पटकको चुनावी प्रतिस्पर्धा रोचक र ऐतिहासिक रहने छ । झापा–१ मा १३ जना दलका र २ जना स्वतन्त्र उम्मेदवार गरी १५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका तर्फबाट केशबराज पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अशेष घिमिरे, राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट हेमराज कार्की, श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को तर्फबाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका तर्फबाट खान्द्रु करुवा, जनता समाजवादी पार्टीका तर्फबाट रमा मेचे, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट मानबहादुर साँवा लिम्बु र नेपाल सदभावना पार्टीका तर्फबाट ओलिन राजबंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । मेचीनगर–८ निवासी गणेशप्रसाद खरेलले र अर्का बुद्वशान्ति गाउँपालिका–५ का दुर्गाप्रसाद सावाँ लिम्बुको स्वतन्त्र उम्मेदवारी रहेको छ । अहिले झापा–१ मा एक लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् ।
यसमध्ये नेपाल जनमुक्ति पार्टीका तर्फबाट उम्मेदवार बनेका खान्द्रु करुवाले पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार घिमिरेलाई समर्थन गरेका छन् । घिमिरेलाई समर्थन गरे पनि मतपत्रमा खान्द्रुको पार्टीकै चुनाव चिन्ह रहनेछ ।
एमालेका उम्मेदवार उप्रेती र कांग्रेसका पाण्डे विगतको विरासत जोगाउने ध्याउन्नमा छन् भने रास्वपाकी डाँगी पुराना पार्टीको विरासत भत्काउनेमा लागेकी छन् । अन्य पार्टी र स्वतन्त्रका उम्मेदवारहरु ठुला पार्टीको मतलाई क्रश गरेर सुरक्षितसँग छिर्ने दाउमा रहेका छन् ।




Discussion about this post