
मेचीनगर, १० चैत । स्वास्थ्य बीमा कार्यालय झापाको लापरवाहीका कारण सेवाग्राही समस्यामा परेका छन् ।
बीमा फारम नभएको भनिएपछि बीमा गर्न इच्छुक सेवाग्राही डेढ महिनादेखि अन्योलमा परेका हुन् ।
झापाका विभिन्न अस्पतालमा उपचार गराइरहेका मेचीनगरका स्थानीयले बीमा कार्यालयको हेलचक्राइँका कारण सुविधाबाट बञ्चित हुनु परेको गुनासो गरे ।
मेचीनगर-६ काे वडा कार्यालयमा बीमाकाे नयाँ फारम भर्नेकाे घुईचाे छ । तर, फारम भर्न आएका सबै खाली हात फर्किरहेका छन् ।
वडाध्यक्ष ललितबहादुर तामाङले एक महिनादेखि नयाँ फारम आइनपुगेकाे जानकारी दिए । केहिले नविकरण गरे तर, नयाँ फारम भर्न आउने सेवाग्राही त्यतिकै फर्किरहेकाे उनकाे भनाई छ ।
´स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध हुन्छ भन्ने विश्वास नहुने बेलासम्म बीमा प्रभावकारी हुन सक्दैन`, तामाङले भने-´बेकार दुःख मात्रै हुन्छ ।`
यस्तै तरिका हाे भने गुणस्तरीय सेवा पाउन गाह्रो हुने सेवाग्राहीकाे भनाई छ । सेवाग्राहीले चाहे अनुसार सेवा नपाएको वडाध्यक्षले पनि उहीँ दाेहाेराए । स्वास्थ्य बीमा कार्ड नवीकरण गर्न कार्यालयमा पटक-पटक धाइरहेका स्थानीय फारम नभएको भन्दै कार्यालयबाट फर्काएका छन् ।
समस्या परेको समयमा सेवा नपाउँदा बीमाको अर्थै नभएको उनीहरूकाे बुझाई छ । टोल फ्री नम्बरमा फोन गर्दा समेत बेवास्ता गरेको वडाध्यक्ष तामाङकाे दावी छ ।
´बीमा गर्ने मानिसको धारणा नकारात्मक बन्दै गइरहेको छ`, उनले भने- कार्यक्रम सञ्चालनमा धेरै समस्या छ ।` सबै वडामा नयाँ फारम नहुँदा बीमाका सेवाग्राही मारमा परेका छन् । स्वास्थ्य बीमा बोर्ड झापाकी प्रमुख लक्ष्मी पाैडेलले ढेड महिनादेखि नयाँ फारम नआएको बताइन् ।
उनले भनिन्-´केन्द्रमा फारम पयाप्त छ । यहाँ आइपुगेकाे छैन् । आवश्यक फाराम जिल्लाका १३१ वटा वडाका स्वास्थ्य बीमा कर्मचारीलाई चाहिने दिएकाे छ । केही अपुग रहेका वडामा माग बमोजिम केन्द्रमा पठाएका छाैं । आउन समय लाग्छ ।`
´कहिले काहीँ समस्या पर्छ`, उनले भनिन्-´त्यसलाई समाधान गर्दै जाने हो । अबको केहि दिनमा फारम उपलब्ध हुन्छ ।` झापामा अहिलेसम्म साढे ८ लाख बीमित रहेकाे उनले जानकारी दिइन् ।




Discussion about this post