
मेचीनगर, ११ चैत । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायको संयुक्त टोलीले मेचीनगरमा बजार अनुगमन गरेको छ ।
अनुगमन समिति संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीको नेतृत्वमा बुधबार धुलाबारी बजार र सो क्षेत्रसँग जोडिएका मेचीनगर–१४, ९ र १० नम्बर वडामा अनुगमन गरिएको हो ।
मेची ग्यास, कोशी ग्यास, त्रिशक्ति ग्यासको डिलर, पेट्रोलपम्प, खाद्य पसल लगायत १२ वटा पसलहरूको अवस्थाबारे निरीक्षण गरिएको छ । केहि खाद्य पसलहरुबाट म्याद नाघेका, लेवल, स्टीकर नभएका अखाद्य सामानहरु नियन्त्रणमा लिएको थियो । बरामद सामानहरु नगरपालिका कार्यालय परिसरमा ल्याएर नष्ट गरिएको छ ।
मेचीनगर–९ र १० मा रहेको कविता भेराइटिज, घिमिरे भेराइटिस तथा लक्ष्य हाउस, एनएमसी सहकारी पसल, बन्जरा भेराइटिज, दास किराना, समीक्षा पसल, खोटाङ कोल्ड सेन्टर, मन पसल फर्निचर उद्योग, मास भेराइटी स्टोर्स, पियुस किराना पसल, मेची ग्यास र नेम्बाङ पेट्रोल पम्पमा अनुगमन गरिएको नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।
अनुगमनका क्रममा मास भेराइटी, खोटाङ कोल्ड सेन्टर, समीक्षा पसल, दास किराना, बन्जरा भेराटिज पसलबाट म्याद नाघेका, लेवल नभएका खाद्य सामानहरु चोखोफन, बोराप्लस, निसा क्रिम, फुरन्दा, फेन्टा, चकलेट, करेन्ट मसला, इम्ली, सुगरफ्रि विस्कुट, बोतलको रसबरी, शिशिर कम्पनीको चियारङ लगायतका खाद्य सामान जफत गरी नष्ट गरिएको र ति पसलेहरुलाई सचेत समेत गराइएको उनले बताए ।
यस्तै टोलीले नेम्बाङ पेट्रोल पम्पमा अनुगमन गरेको थियो । इन्धनमा मिसावट छ कि छैन भनेर पेट्रोल जाँच गर्दा कफियत नभेटिएको बताएको छ ।
यसैगरी, टोलीले मेचीनगर–१४ मा रहेको मेची ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो । टोलीले बजारमा ग्यास अभाव हुनुको कारण, ग्यास सिलिण्डरको ओजना कम हुनु, उद्योगले डिलर र पसलेलाई पुग्दो ग्यास नपठाउनु कारण समेत सो उद्योगका सञ्चालक मार्स प्रसाईलाई सोधिएको थियो ।
सञ्चालक प्रसाईले ओजनमा थोरै भएपनि कम वा बेसी हुनु स्वभाविक रहेको जानकारी दिए । डिलर र पसलेले मासिक वा हप्तामा बिक्री, खपत गरे अनुसारको सामान पठाउने गरिएको उनको दावी छ ।
‘मेचीनगरमा अहिलेसम्म ग्यासको अभाव छैन्’, प्रसाईले भने–‘उद्योगमा उत्पादन भएका ग्यास बजारमा दिइरहेका छौं । उद्योगले दैनिक करिव २७ सय ग्यास सिलिण्डर उत्पादन गरिरहेको छ ।’
मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि नेपालमा खाना पकाउने ग्यास हाफ सिलिण्डरमा मात्र पाउन थालेको छ । तर, ग्यासका उद्योगीहरुले ग्यास अभाव नभएको बताइरहँदा उपभोक्ताहरुले चाहिँने भन्दा बढी ग्यास लगेर अभाव सिर्जना गरेको र केहि व्यवसायीहरुले पनि ग्यास लुकाएर भण्डारण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
व्यवसायीहरुले खाना पकाउने ग्यासको कृत्रिम अभाव गरिरहेको, उपभोक्ता ठगीरहेको र कालोबजारी भइरहेको सूचना आएपछि तत्काल बजार अनुगमन गरिएको उपप्रमुख उप्रेतीले बताइन् । अनुगमन गर्दा त्यस्तो खासै अभाव भएको नभेटिएको उनको भनाई छ ।
उपप्रमुख उप्रेतीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा नगरपालिकाका खाद्य विश्लेषक दिपेकार्की, वडा नं. १० का वडा सदस्य सोम ओझा, खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता साह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका प्रतिनिधिहरु विजयनन्द चौधरी, हरेराम महतो, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन दाहाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, इलाका प्रहरी कार्यालय धुलाबारीका सई गणेशकुमार श्रेष्ठ, प्रहरी हवल्दार विज्ञान सापकोटा, किरण लिम्बु, नगरप्रहरीद्वय दीपा राजबंशी, प्रकाशकुमार बानियाँ, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
(शव्द÷फोटोहरु : अर्जुन कार्की)




Discussion about this post