


धुलाबारी, २० चैत । नेपालका लागि बंगलादेशका राजदुत महामहिम मो.शफिकुर रहमान मेचीनगर आएका छन् ।
मेची उद्योग बाणिज्य संघको निमन्त्रणमा शुक्रबार धुलाबारी आएका हुन् ।
संघ र नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सको संयुक्त आयोजनामा ‘नेपाली कृषिजन्य वस्तुहरुको निकासी सम्भावना तथा अवरोधहरु’ विषयमा राजदुत रहमानसँग छलफल भएको थियो ।
कार्यक्रमको अध्यक्षता समेत गरेका मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, संघका संस्थापक अध्यक्ष एवम् नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सका पनि संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तु, अन्य सामानहरु भारत हुँदै बंगलादेश लादा र ल्याउँदा व्यापारीले भोग्नु पर्ने समस्याका बारेमा राजदुत रहमानलाई जानकारी गराएका थिए ।
राजदुत रहमानका अनुसार दुवै देशमा नयाँ सरकार आएको छ । व्यापार बढाउन दुवै देशको सरकारलाई झकझकाउँनु पर्छ ।
रहमानले भने–‘कृषिजन्य वस्तु, कुच्चो लगायतमा लाग्ने करका विषयमा केन्द्रमा कुरा राख्ने छु ।’
उद्योगी–व्यावसायीहरुले कृषिजन्य वस्तुहरुको करमा छुट हुनु पर्ने माग राखेका थिए । अहिले बंगलादेशले कृषिजन्य वस्तुमा करिव ५८ देखि ८५ प्रतिशतसम्म कर लगाउँदै आएको छ । त्यो कर कम गराउन व्यापारीको माग छ ।
कार्यक्रमको सहजीकरण मेची उद्योग बाणिज्य संघका निवर्तमान महासचिव ध्रुब कनालले गरेका थिए । राजदुत रहमान मेची भन्सार कार्यालयमा समेत भेटघाट गरेर बिर्तामोड उद्योग बाािणज्य संघको कार्यक्रममा पनि सहभागी भएका थिए । उनी आज झापा नै बस्ने छन् । भोलि इलाम पुगेर काठमाडौं फर्किने बताइएको छ ।
(फोटो–शव्द : अर्जुन कार्की)




Discussion about this post