

मेचीनगर, २२ चैत । संयुक्त राष्ट्र संघको जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन गर्ने बहुउद्देश्यीय परियोजना मेचीनगर नगरपालिकालाई परेको छ ।
केही दिनअघि मात्र नेपालमा शुभारम्भ भएको सो परियोजनाको छनौटमा मेचीनगर परेको हो ।
दक्षिणपूर्व एशियाका न्यून आय भएका सहरी समुदायलाई लक्षित गर्दै समतामूलक तथा जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन गर्न बहुदेशीय परियोजना मेचीनगरलाई परेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
संयुक्त राष्ट्र संघको विकास खाताको १७औँ बजेट अन्तर्गतको बजेटबाट नेपाल र लाओसमा यो परियोजना सुरु गरिने छ । परियोजनाको पहिलो कम्पोनेन्ट अन्तर्गत छनोट गरिएका सहरहरूमा सार्वजनिक सहरी सरसफाइ सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गरिनेछ ।
‘ग्लोबल साउथ वास फाइनान्सिङ एण्ड सस्टेइनेबीलीटी कन्फ्रेन्स–२०२६’ को अवसरमा यूएन हेवीटेडका वाटर एण्ड सनीटेसन टिम लिडर हेजीकेव पीरे, राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्वि केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
जलवायु परिवर्तन, तीव्र सहरीकरण, अनियोजित बस्ती विस्तार तथा सीमित सार्वजनिक लगानीका कारण न्यून आय भएका सहरी समुदायले सुरक्षित र दिगो सरसफाइ सेवामा पर्याप्त पहुँच पाउन नसकेको उल्लेख गर्दै यस्तो परियोजना समयसापेक्ष र अत्यन्त आवश्यक रहेको बताइएको छ ।
यसले जलवायु–सहनशील तथा समावेशी सरसफाइ सेवाको प्रभावकारी योजना, कार्यान्वयन, सञ्चालन तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ । विशेषगरी न्यून आय भएका, जोखिममा रहेका तथा सेवा पहुँचबाट बञ्चित समुदायलाई केन्द्रमा राख्दै सरसफाइ पूर्वाधार, सञ्चालन प्रणाली र सेवा प्रवाहमा सुधार ल्याउन परियोजनाले संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिमा जोड दिने उदेश्य रहेको छ ।
नेपालमा झापाको मेचीनगर नगरपालिकालाई छनोट गरिनु मुख्य कारण मेचीनगरमा दुई वटा मानव मलमूत्र प्रशोधन केन्द्रहरु सञ्चालनमा रहेका छन्, सीमावर्ती सहरीकरण व्यवस्थापन तथा न्यून आय भएका समुदायमा सेवा विस्तारको सम्भावना उच्च भएकाले महत्वपूर्ण अवसरका रूपमा हेरिएको यूएन हेवीटेडका एनपीओ सुधा श्रेष्ठले बताइन् ।
मेचीनगर–७ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र मेचीनगर–१३ को चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालनमा छ । विशेष गरी नगरस्तरमा फोहोरपानी व्यवस्थापन, मलमूत्र व्यवस्थापन, पूर्वाधार सञ्चालन तथा नियमित मर्मत सम्भारमा संस्थागत क्षमता सुदृढीकरण गर्ने छ ।
परियोजनाले लक्षित समुदायहरूमा स्वास्थ्य जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणमा कमी, जलवायु उत्थानशीलता वृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने विश्वास गरेको छ ।
मेचीनगरमा सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने यस परियोजनाले न्यून आय भएका सहरी समुदायका लागि बस्न योग्य, समावेशी र जलवायु–सहनशील सहर निर्माणमा सरसफाइ सेवाको गुणस्तरीय पहुँच विस्तार गर्ने छ ।
।। अर्जुन कार्की ।।




Discussion about this post