झापा, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।
विहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना सहोदर दाजु–भाइ हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । घटनापछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई शुक्रबार उपचारका लागि धनगढी ल्याइएको थियो ।
प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ । यद्यपि त्यही कुरा आधिकारिक रूपमा पुष्टि भने गरिसकेको छैन । उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।




Discussion about this post