।। शव्द÷फोटो : अर्जुन कार्की ।।
मेचीनगर, ५ वैशाख । ‘गर्दा के हुँदैन’ भन्ने उदाहरण बनिएका छन् बाहुनडाँगीका सफल कृषक युवा व्यवसायी रवि नेपाल ।
उनले मेचीनगर–४ स्थित आमडाँगीमा आधुनिक एकीकृत (मिश्रित) कृषि खेतीबाट बर्षेनी लाखौं रकम आम्दानी गरिरहेका छन् ।
आफ्नो १५ विघाको क्षेत्रफलमा २७ प्रकारका नगदे वाली लगाएर राम्रो आम्दानी गरेका हुन् । विदेशमा पसिना बगाइरहेका र यतै वेरोजगार बनेका नेपालीहरुका लागि उनी एक उदाहरणीय किसान सावित भएका छन् ।
कृषक नेपाल भन्छन्–‘जम्मा १५ विघा जग्गा छ । २७ प्रकारका नगदे वाली लगाएको छु । एक विघा जग्गा बराबर बार्षिक ८÷९ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।’
१३ वर्षदेखि व्यावसायिक कृषि खेतीमा लागेका उनले नेपालमा नमूना कृषकको रुपमा दर्ज भएका छन् । उनको लोभलाग्दो कृषि उत्पादन हेर्न र सिक्न विश्वका कृषकहरु आउने गरेका छन् ।
२७ वटा नगदे बालीमा कुनै तीन वर्षे, चार वर्षे, पाँच वर्षे, ७ वर्षे उत्पादन हुने विरुवाहरु लगाएका छन् । विरुवा अनुसारका नगदे वालीले उत्पादन दिइरहेको उनको भनाई छ ।
उनको खेतीमा चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौं वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेको छ । सुरुमा चिया खेतीबाट कृषि पेशा अंगालेका थिए । अहिले एउटै जग्गामा चिया, रबर, अगरउड, अमला, कटहर र तेजपत्ता जस्ता नगदे बालीलाई एकसाथ हुर्काइरहेका छन् ।
उनका अनुसार उत्पादन गरसिकेपछि वर्षेनी आम्दानी दिन थाल्छ । तर, छिटो आम्दानी खोज्ने हो भने एक महिने, ३ महिने वा ६ महिनाभित्र आम्दानी दिने तरकारी खेती गर्दा हुन्छ । यसमा चाहीँ पखिनु पर्छ, समय लाग्छ ।
‘सुरुमा लगानी र मेहनत बढी हुन्छ, गोडमेल र विरुवा हुर्काउन समय लाग्छ,’ उनी भन्छन्– ‘तीन वर्षपछि प्रतिफल सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन् । बगानमा औषधीय गुण भएका अर्जुन, मोरिंगा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी, ड्रागनफुड, केरा, मरिच, सुपारी, पूजामा चाहिँने लगायत वस्तुहरु छन् ।
चिया बगानभित्र नरिवल खेती पनि सुरु गरेका छन् । उनले कृषि विज्ञहरूको सल्लाहमा बगानभित्र चियाका केहि बुट्टा हटाएर फराकिलो मलिलो माटोमा नरिवलका विरुवा रोप्न थालेको बताए । चिया बगानभित्र घुसुवा बालीको रुपमा नरिवल लगायतका यी खेतीहरु राम्रो फस्टाएको छ ।
बाहुनडाँगीका किसान वर्षौदेखि वन्यजन्तुका रुपमा हात्ती, चितुवा र बाँदरको कारण पीडित रहेका छन् । चिया, कागती, अगरउड, नरिवल जस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपुर्याउने भएकाले यो बैकल्पिक खेतीको रुपमा किसानहरुलाई राहत मिलेको छ ।
बाताबरणीय प्रभाव, मलिलो माटो, हरियाली बाताबरण लगायतले पनि पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रहरु बाहुनडाँगी, शनिश्चरे, बुधवारे, शान्तिनगर लगायतको क्षेत्रमा चिया, सुपारी, नरिवल खेती उपयुक्त देखिएको छ ।
नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुन्छ । बजारमा नरिवल भित्रको पानी खानका लागि ठूलो माग रहँदै आएको छ । उनका अनुसार हाम्रो प्रमुख बजार भनेको झापा र भारत नै हो । स्थानीय र भारतीय व्यापारी बारीमा नै आएर मोलतोल गरेर लान्छन् । बजारका लागि समस्या छैन् ।
उनले भने–‘समस्या भनेको हामीले यत्रो बैंकबाट ऋण लिएर लगानी गरिरहेका छौं । अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गरेको छैन् । ती सरकारहरुले कृषकले के गर्दैछन् भनेर स्थलगत आउँदैनन् र सोधदैनन् पनि । अनि किन सरकारको आश गर्नु ।’
सफल कृषि कममा लागेका उनले विदेश धाउनु पर्दैन । उनको सुझाव छ । आफ्नै ठाउँमा श्रम खर्च गर्न सकिन्छ । जादुको छडि जस्तो फुत्त भनेको बेला पैसा आउँदैन । मेहेनत गर्नु पर्छ । समय लाग्छ । उनले युवा पुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले नीति बनाउनु पर्छ ।
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले समाजसेवी एवम् युवा व्यवसायी रवि नेपालले पछिल्लो समय कृषि पेशामा लागेपछि उनले बाहुनडाँगीका किसानलाई आधुनिक कृषि खेतीमा लाग्न हुटहुटी जगाएको बताए । यस्तो नगदे बाली मिश्रित खेती उत्पादनले कृषि र पर्यटनलाई सँगै जोडेर लान मद्दत मिल्ने कार्कीको भनाई छ ।





Discussion about this post