सुरुङ्गा, ७ भदौ । कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा एकै परिवारका तीन जनाले आत्माहत्या गरेका छन् ।
आत्महत्या गर्ने परिवार नजिकै उनको काकीको घर छ । काकीले आज विहान किन उठेनन् भनेर झ्यालबाट हेर्दा बच्चासहित झुण्डिएको अवस्थामा देखेर सबैलाई खवर गरेकी थिइन् ।
३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र ८ महिनाको बच्चा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार माइती पक्ष उदपुरबाट आएपछि मात्रै ढोका खोल्ने बुझिएको छ ।
स्थानीयका अनुसार रविन विकको घरमा केहि समयदेखि पैसा माग्न धेरै आउने गरेका थिए ।
दैनिक ८÷१० जना पुरुषहरु पैसाका लागि उनको घर पुग्ने गर्थे । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउन युवाहरुलाई मेनपावरसँग सम्पर्क गराउँदै आएका विक पैसाको ताकेताले नै आत्महत्या गर्न बाध्य भएको अनुमान गरिएको छ ।
कनकाई–१ का वडाध्यक्ष रोशन पोखरेलका अनुसार ताकेता आत्महत्याको कारण हुन सक्ने बताउँछन् । पोखरेलले भने– ‘थप अनुसन्धानले पक्कै बाहिर आउला ।’ वडाध्यक्षलाई पनि विकसँग पैसा उठाइदिन भन्दै तीन दिनअघि युवाहरुले फोन गरेका थिए । फोन गर्नेहरु ओखलढुङ्गाका थिए । उनीहरुलाई वडाध्यक्षले व्यक्तिगत रुपमा पैसा उठाउन नमिल्ने भन्दै न्यायिक समितिमा जान सूझाव दिएका थिए ।
प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारमा जाने ५० जनाको पैसा डुवेको छ । उनै विकको सम्पर्कबाट मेनपावर पुगेकाहरुको लगानी डुवेपछि विकको सम्पर्कमा आएका थिए । उनीहरुको कम्तिमा ५० हजारका दरले लगानी फसेको बुझिएको छ ।
आइतवार पनि विकको घरमा ८÷१० जना व्यक्ति तोकता गर्न आएका थिए । ताकेताकै कारण विक परिवारले आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान गरिएको छ ।
Discussion about this post