झापा, ७ भदौ । पार्टी विभाजनमा माधवकुमार नेपालालई साथ नदिएका एमाले नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ ।
ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ । १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ । केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशिल हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशिल हुन्छन् भोलि हामी त्यो ढाचाबारे कुरा गर्छौ । भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ ।’
सचिव भट्टराईले सबै पूर्ववत जिम्मेवारीमा रहनेसमेत बताए । उनले कोही पनि विभाजनमा जान नहुने भन्दै कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता स्थायी कमिटिले गर्ने दाबी गरे । उनले आफूहरूको सहमति बिनै माधव नेपालले नयाँ पार्टी गठन गरेको आरोप लगाए ।
‘हामीले अन्तिमसम्म एकताको रक्षा गरौं भनेको हो । हामीले उहाँसँग पटक पटक पार्टी विभाजनमा हामी सँगै हुँदैनौ भनेर प्रष्टसँग भनेको हो । उहाँले अलि हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरि बाहिर जानुभयो’, उनले भने, ‘एकतामा फर्किएमा सबै कारबाही अमान्य हुन्छन् भनेर अध्यक्षले भन्नुभएको छ । माधव नेपालाई एकतामा आवद्ध हुन अपिल गछौं । नयाँ पार्टी गठनबाट उहाँ अलग हुनपर्छ । हामी अन्तिम पहलकदमी लिन्छौ ।’
यस्तै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले स्थायी कमिटी बैठकमा सबै उपस्थित हुने दाबी गरे । ‘१० बुँदे कार्यान्वयनको प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ । यसबारेमा थप छलफल गर्न भोलि ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठामा स्थायी कमिटी बस्छ’, उनले भने, ‘यो छलफलपछि पार्टीमा देखिएका समस्याहरु समाधान हुन्छ । भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुन्छ ।’
Discussion about this post