झापा, ९ भदौ । नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन् । नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए ।
चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन् । उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए । यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन ।
केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो । नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ । आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ ।
आयोगका प्रवक्ता श्रेष्ठले नयाँ पार्टी दर्ताको प्रमाणपत्र आजै दिन सकिने बताएका छन् । ‘अब यति जनाको सनाखत भयो भन्ने विवरण आयोगलाई बुझाइन्छ, आजै प्रमाण पत्र दिन पनि सकिन्छ,’ श्रेष्ठले भने ।
Discussion about this post