भद्रपुर, १० भदौ । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको मृत्यु भएको छ ।
बुधबार साँझ भद्रपुर–९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई (प्रसाई)लाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते प्रसाईलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित लाइफलाईन लगिएको परिवारको भनाई छ । प्रहरीका अनुसार प्रसाईको राती २ः३० बजे निधन भएको छ । उनको पेटमा रहेको बच्चाको धडकन समेत नचलेको बताइएको छ ।
बा २७ प ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठक्कर दिएका थिए ।
प्रहरीका अनुसार मापसे गरेर मोटरसाइकल चलाइरहेका तिवारीलाई तत्कालै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हिरासतमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार गर्भवती दिक्षालाई चिकित्सकले असोज १२ गतेको समय दिएका थिए ।
Discussion about this post