झापा, १४ भदौ । बिर्तामोडमा आजदेखि फोहोर उठाउन थालिएको छ ।
फोहोर व्यवस्थापन गर्ने ठाउँ अभावका कारण दुई सातादेखि फोहोर उठेको थिएन ।
फोहोर नउठाउँदा बिर्तामोडको चोक, गल्लीहरु दुर्गन्धित भएका छन् ।
बिर्तामोड नगर प्रमुख धु्रबकुमार शिवाकोटीले आफ्नो निजी जमिनमा फोहोरको व्यवस्थापन गर्न ठाउँ उपलब्ध गराएपछि फोहोर उठाउन थालिएको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार नगरप्रमुखको बिर्तामोड–७ मा रहेको निजी जग्गामा ठाउँ दिएपछि तत्कालका लागि फोहोर उठाएर पुरिएको छ । अल्पकालिन समाधानका लागि नगरप्रमुखले जग्गा उपलब्ध गराएको कार्कीको भनाइ छ ।
झण्डै १२ दिनदेखि बिर्तामोडमा फोहोर उठाइएको थिएन । फोहोर उठाउने जिम्मा पाएको निराकार सरसफाइ सेवा प्रालिले ठाउँ अभावका कारण समस्या भएको जनाएको थियो ।
प्रशासन प्रमुख कार्कीले ल्याण्डफिल्ड साइडका लागि जमिनको खोजी भइरहेको जानकारी दिए । उनले स्थानीय राजनीतिक दल, नागरिक र नगरपालिकाको समन्वयमा दीर्घकालिन व्यवस्थापनको पहल भईरहको बताए ।
Discussion about this post