।। अर्जुन कार्की ।।
मेचीनगर, १४ भदौ । भारतीय नागरिकलाई आजदेखि काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिन थालिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालका अनुसार आजदेखि भारतीय नागरिकलाई कोरोना विरुद्वको खोप र पीसीआर गरेको कार्ड देखाएमा नेपाल प्रवेश गर्न दिन थालिएको हो ।
‘माथिबाट लिखित आदेश त आएको छैन’, डीएसपी दाहालले भने–‘तर मौखिक आदेशका कारण व्यवहारिकता हेरिदिने भनेकोले भारतीय नागरिकलाई खोप र पीसीआर गरेको कार्डको आधारमा नेपाल प्रवेश गर्न दिन थालिएको छ ।’
कोरोनाका कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको थियो । करिव ४ महिनापछि व्यवहारिकताका आधारमा भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा खुल्ला गरिएको छ ।
कोरोनाका कारण सुरुमा काँकरभिट्टा नाका पुरै ठप्प थियो । त्यसपछि केहि खुकुलो हुँदै गएको छ । यसअघि भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकहरुलाई खोप र पीसीआरका आधारमा काँकरभिट्टा नाकामा आवत–जावत गर्न दिएको थियो ।
पश्चिम बंगाल सरकारले अझै पनि नेपाली नागरिकहरुलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतमा जागिर गर्ने नेपालीलाई मात्र प्रवेश गर्न दिएको छ ।
Discussion about this post