झापा, २८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई खोप लगाउने गरी कार्यक्रम अगाडि बढेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म कुल एक करोड ८ लाख डोज खोप आउने सुनिश्चित भएको भन्दै उक्त अवधिभित्र कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाइने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आजसम्म ४५ लाख जनालाई पहिलो डोज खोप लगाइएको छ । त्यो भनेको कुल जनसंख्याको झन्डै १५ प्रतिशत हो ।
राज्यमन्त्री श्रेष्ठले अहिले दैनिक डेढदेखि दुई लाख जनाले खोप लगाउने गरेको जनाए । उनले अब आउने खोपहरू बढी संक्रमण भएका जिल्लाहरूमा केन्द्रित गरिने बताए । अहिले १० देखि १५ वटा जिल्लाहरूमा संक्रमण बढी रहेको भन्दै अब आउने खोपलाई त्यस्ता ठाउँहरूमा प्राथमिकता दिइने श्रेष्ठले जनाए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीलाई लक्षित गरी फाइजर र मोर्डेनाका कोरोना खोप ल्याउने गरी गृहकार्य अघि बढाइएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यार्थीहरूलाई खोप उपलब्ध गराउने तयारी रहेको जनाएका हुन् ।
अहिले लगाइराखिएको खोप १८ वर्ष उमेर मुनिका किशोर किशोरी र बालबालिकालाई लगाउन नमिल्ने भन्दै ती उमेर समूहका लागि उपयुक्त खोप ल्याइने श्रेष्ठले बताए ।
Discussion about this post