झापा, २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।
बिहीबार साँझ आफूले मुख्यमन्त्रीको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले थप ६ जना सम्मिलित मन्त्रिमण्डल बनाएका हुन् ।
नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् । यसअघि विनाविभागीय राज्यमन्त्री बन्ने चर्चा चले पनि विमला ओलीलाई केसीले मन्त्री बनाएनन् ।
बिहीबार सपथ लिने दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा सहसराम यादवले सपथ लिएका छन् ।
अन्य तीन जना भने विनाविभागीय मन्त्री बनेका छन् । विनाविभागीय मन्त्रीको रूपमा सपथ लिनेहरूमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा रहेका छन् ।
ग्रामीण तथा सहरी विकास मन्त्री चौधरी नेपाली कांग्रेसका हुन् भने कृष्णध्वज खड्का माओवादी केन्द्र तथा सहसराम यादव जनता समाजवादी पार्टीका हुन् ।
त्यस्तै, विनाविभागीय राज्यमन्त्रीमा सपथ ग्रहण गरेका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी जनता समाजवादी तथा अजय शाही सूर्य चिन्ह लिएर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।
Discussion about this post