झापा, ३० साउन । नेपाली कांग्रेससको केन्द्रीय महाधिवेशन आगामी मंसिर दोस्रो हप्तामा हुने भएको छ ।
शनिबार कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिनापछि अर्को महाधिवेशन मिति तोकेको हो ।
बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिकामा छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो ।
पार्टी विधान र संविधान अनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसको सकिएको छ ।
Discussion about this post