झापा, २ भदौ । नेपाल प्रेस युनियन झापा शाखाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
बिर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उहाँका छोरी–ज्वाई टीकादेवी–कृष्णप्रसाद संग्रौलाले पुरस्कार स्थापनाका लागि एकलाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।
यसअघि पाठक दम्पतीका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठकले एकलाखको अक्षयकोष स्थापना गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भटराई लगायतले शुभकामना मन्तब्य राखेका थिए । वक्ताहरुले पाठक परिवार नेपाली पत्रकारितामा परिचित नाम भएको उल्लेख गर्दै पुरस्कारले पत्रकारहरुलाई प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा महिला उपाध्यक्ष सुशिला संग्रौला, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष शेखर सेढाई, पत्रकारहरु लक्ष्मी लुइटेल, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो ।
अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिने प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भटराईले जानकारी दिए । अक्षयकोष सञ्चालन कार्यविधि तयार भइसकेको र सोही कार्यविधि अनुसार पुरस्कार छनौट समितिले प्रतिभा छनौट गर्ने एवम् प्रत्येक बर्ष प्रेस युनियनको स्थापना दिवसको सन्दर्भ पारेर उक्त पुरस्कार प्रदान गरिने युनियनका सचिव डिल्लीराम घोर्साईले बताए ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश भटराईले गरेका थिए ।




Discussion about this post