मेचीनगर, २१ भदौ । स्वास्थ्यकर्मीको गम्भीर त्रुटीका कारण भेरोसेलको दोेस्रो डोज लाउन बाँकी एक जना वृद्वलाई एस्ट्राजेनेकाको खोप लगाई दिईएको पुष्टि भएको छ ।
मेचीनगर–७ को खोप केन्द्रका स्वास्थ्यकर्मीले भेरोसेलको दोेस्रो डोज लाउन बाँकी सोहि ठाउँका ६० बर्षीय लक्ष्मीप्रसाद कोइरालालाई सोमबार एस्ट्राजेनेकाको खोप लगाईएको पाईएको पुष्टि भएको हो ।
कोइरालाले भेरोसेलको पहिलो डोज गत साउन १३ गते लगाएका थिए । कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएकालाई दोेस्रो मात्रा एस्ट्राजेनेकाकै दिने निर्णय सरकारले गरेको थियो ।
सोहि अनुसार झापामा भदौ १५ गतेदेखि २२ गतेसम्म एस्ट्राजेनेकाको खोप अभियान चलिरहेको छ ।
दोस्रो डोजको खोप लगाईँदैछ भन्ने थाहा पाएपछि कोइराला खोप कार्ड बोकेर वडा कार्यालय पुगेका थिए । कोइरालाका अनुसार स्वास्थ्यकर्मीले कार्ड मागेर लेखे र मलाई खोप लगाउन पठाए । कोइराला र उनकी श्रीमती भागिरथी कोइराला दुबैजना दोस्रो डोज लगाउन बाँकी थियो ।
कोइरालाले खोप लगाईसकेपछि खोप उनले श्रीमतीलाई खोप केन्द्रमा बोलाए । उनकी श्रीमती भागिरथीले केन्द्रमा पुगेर खोप कार्ड देखाइन्, स्वास्थ्यकर्मीले उनलाई यो खोप लाउन नमिल्ने जानकारी गराए ।
एउटालाई मिल्ने अर्कोलाई नमिल्ने जवाफ स्वास्थ्यकर्मीबाट पाएपछि मात्र खोप लगाउने क्रममा स्वास्थ्यकर्मीबाट गम्भीर त्रुटी भएको सार्वजनिक भएको छ ।
मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवका अनुसार स्वास्थ्यकर्मीबाट त्रुटी भएको स्वीकार गरेका छन् । उनले दोस्रो डोजका रुपमा एस्ट्राजेनेका लगाउँदा समस्या नआउने बताए । कोभिशिल्डकै दोस्रो खोप लगाउँदा अब आठ हप्ता कुर्नु पर्ने उनको भनाइ छ ।
वडा नम्बर ७ का कार्यबाहक वडाध्यक्ष नेत्र दाहालले स्वास्थ्यकर्मीको लापरबाही भएको बताए । खोप लगाउने कोइराला बाबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
Discussion about this post