धुलाबारी, २ असोज । मेचीनगर लेडी जेसिजले सात दिन सातैवटा स्वास्थ्य शिविर गरेर उदाहरणीय रुपमा सप्ताह कार्यक्रम आज सम्पन्न गरेको छ ।
समापन अवसरमा धुलावारी बजारको आगमन मेडिकल अगाडि आयोजित कार्यक्रममा उपस्थित राजनीतिक तथा सामाजिक क्षेत्रका वक्ताहरुले लेडी जेसिजले स्थापनाकालदेखि पुर्याउँदै आएको सामाजिक योगदानको सराहना गरेका छन् ।
प्रमुख अतिथि एवम् मेचीनगर वडा नं. १० का अध्यक्ष सुदय पनेरुले स्थापनाकालदेखि आफु जेसिजमा जोडिएको बताउँदै जेसिज जहिल्यै पनि राजनीतिक बाद र विवादभन्दा माथि उठेर काम गर्ने संस्था भएको धारणा राखे ।
आफुले वडाध्यक्षको रुपमा पाँचै वर्ष जेसिजको राम्रा काममा सहयोग गर्न पाएको जनाउँदै उनले नेतृत्व विकासमा अग्रसरता लिएको कारण मेचीनगर लेडी जेसिज राजनीतिक नेता जन्माउने थलो समेत भएको बताए ।
विशेष अतिथि एवम् नेपाली कांग्रेसकी नेतृ दुर्गा खतिवडा, मेचीनगर लेडी जेसिजकी पूर्व अध्यक्ष टिका सुबेदी, पत्रकार मोहन काजी लगायतका वक्ताले कार्यक्रममा बोलेका थिए । जेसिजकी अध्यक्ष सुशिला खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्घोषण सीता पुरीले गरेकी थिइन् ।
स्त्रीरोग विशेषज्ञ डा.पविना कट्टेल, महिला नेतृ झुमा बानियाँ, मञ्जु खनाल लगायत मेचीनगर लेडी जेसिजकी पूर्व अध्यक्षहरु, पत्रकार देबु बानियाँको उपस्थिति थियो ।
कार्यक्रममा जेसिजले आँखा उपचार शिविर, दन्त उपचार शिविर, नाक, कान, घाँटी उपचार शिविर, स्त्रीरोग उपचार शिविर, रक्तदान र ल्याव परीक्षण शिविर सञ्चालन गरिएको अध्यक्ष खतिवडाले जानकारी दिएकी छन् ।
शिविरबाट सयौं सर्वसाधारणले उपचारको लाभ लिएका थिए । कोभिड १९ को महामारीका कारण धेरै कार्यक्रम गर्न नसकिए तापनि स्वास्थ्य सेवा जस्तो विषयलाई प्राथमिकता दिएर कार्यक्रम गरिएकोमा समापन कार्यक्रमका वक्ताहरुले प्रशंसा गरेका थिए ।
Discussion about this post