झापा, २४ कात्तिक । पत्रकार तिलक योञ्जनलाई उपचारका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार तिलक योञ्जन बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा १ खुदुनाबारीमा रहेको आफ्नो घर जानेक्रममा भदौ २ गते साँझ ८ बजे मोटरसाइकल दुर्घटनामा परेका थिए ।
शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टा भाँचिएको थियो ।
खुट्टाको हड्डीलाई पूर्ववत अवस्थामा ल्याउन करिब ७ घण्टा लामो शल्यक्रिया गर्नुपरेको उनले जनाएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गरेर हालकरिब साढे तीन महिनादेखि बेड रेष्टमा रहेका पत्रकार योञ्जन विपन्न परिवारका सदस्य हुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।
सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेसामालागेर जीविकोपार्जनका लागि संघर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले यतिबेला नियमित औषधी खान समेत रकम अभाव हुन थालेको उनको दुःखेसो छ ।
घाइते पत्रकार तामाङको वर्तमान अवस्था बारेमा प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक सदस्य गोपाल काफ्लेले बैठकमा जानकारी गराउँदै नियमावली २०७७ को दफा १६ बमोजिम रकम सहयोग गर्नुपर्नेमा जोड गरेका थिए ।
नियमावली अनुसार नै हुनेगरी प्रस्ताव आएकाले पत्रकार सुरक्षा कोषबाट खर्च लेख्ने गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
पत्रकार तामाङ हिंडडुल गर्नसक्ने अवस्थामा नरहेकाले सोझै उनको बैंक खातामा रकम पठाउने ब्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक शर्माले जनाएका छन् ।
Discussion about this post