मेचीनगर, २३ कात्तिक । पूर्वी नाका काँकरभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ ।
विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङकले देखाएको छ ।
चालु आर्थिक बर्ष २०७८÷०७९ को तीन महिनामा चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङकले देखाएको छ ।
सो अवधिमा नेपालबाट बंगलादेश, भारतलगायतका स्थानमा दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामाग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताए ।
उनले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, मटमासकै दाना (तेलका लागि) एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्लादेशबाट आयात भएको बताए ।
मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनाको अवधिमा ३४ करोड, पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ ।
त्यसैगरी, प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तरगत झापामा धान खेती हुँदै आए पनि भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ ।
उनका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र रु. आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ ।
तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ ।
यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थ समेत निर्यात हुँदै आएको छ ।
Discussion about this post