झापा, २३ कात्तिक । कोभिड –१९ को महामारीका कारण गत बर्ष घर आँगनमै कृत्रिम जलकुण्ड बनाएर छठ पर्व मनाएका तराईवासी विभिन्न समुदायले यसपटक भने प्राकृतिक नदी र तलाउमा गएर पूजापाठ गर्ने तयारी गरेका छन् ।
स्थानीय तहमै छठपूजा समिति बनाएर भव्य रुपमा मनाउने तयारी गरिएको हो । समितिले छठ पूजालाई व्यवस्थित गर्नका लागि स्वाथ्य मापदण्ड अपनाएर नदी किनार सरसफाई गरेर पूजास्थल तयार गर्न लगाएका छन् ।
झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायतका नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपाली वृहत तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो । सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुल समेत बनाइएकोे छ ।
यसपटक हजारौंको संख्यामा छठका ब्रतालुहरुले सामूहिक रुपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठीदेवीको पूजा गर्नेछन् । कोभिड १९ को संक्रमण अझै रहिरहेको हुँदा दसैं, तिहारमा जस्तै छठ पर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताइन् ।
Discussion about this post