बिर्तामोड, २५ कात्तिक । निर्माण व्यवसायी संघ झापाको १४औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ ।
संघको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका निर्माण व्यवसायीहरुले यसलाई निकै महत्वका साथ हेरेका छन् ।
साधारण सभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्ने निर्णय भएको संघका महासचिव ओम पौडेलले जानकारी दिए ।
अघिल्लो वर्ष नै साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि कोरोनो संक्रमणका कारण साधारण सभापछि धकेलिएको हो । कोरोना संक्रमण घटेर सार्वजनिक समारोहहरु हुन थालेपछि निर्माण व्यवसायी संघ झापाले पनि साधारण सभाको मिति तय गरेको अध्यक्ष वस्नेतले बताए ।
वर्तमान कार्यसमितिले कोभिड–१९ का कारण उल्लेख्य काम गर्न नपाए पनि संकटमा परेका व्यवसायीको राहतका लागि पहलकदमी गरेको, निर्माण व्यवसायीहरुले काम सम्पन्न गरे पनि सरकारी भुक्तानी रोकिएकोमा सो भुक्तानी दिलाउन संघले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका क्रियाकलापमा संघको सक्रिय साथ–सहयोग रहेको थियो । हाल संघमा २७६ निर्माण व्यवसायी आबद्ध रहेको संघका कार्यालय प्रमुख ज्योति पौडेलले बताए ।
Discussion about this post