झापा, १३ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रस्ताव गरेका केन्द्रीय सदस्य पदमा झापाबाट चार महिला नेतृ समेटिएका छन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष सुनिता बराल पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित भएका हुन् ।
केन्द्रीय सदस्यका लागि झापाबाट प्रदेश नं. १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, मेची बहुमुखी क्याम्पसकी प्राध्यापक शुभलक्ष्मी राई र झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पवित्रा खरेलको नाम समेत चर्चामा थियो । गजमेरलाई लेखा आयोग सदस्यमा समेटिएको छ ।
ओलीबाट प्रस्तावित भएका केन्द्रीय सदस्यहरुले पनि विधान बमोजिम महाधिवेशनको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।
उनीहरुले ओलीको प्रस्ताव बमोजिम नै आफ्नो मनोनयन निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
केन्द्रीय सदस्यमा पदोन्नति भएका दमककी उपप्रमुख अधिकारी र मेचीनगरकी उपप्रमुख उप्रेतीलाई पार्टीले आगामी स्थानीय तहको चुनावमा नगर प्रमुख पदको उम्मेद्वार बनाउने सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
Discussion about this post