मेचीनगर, १३ मंसिर । राजनीति फोहोरी खेल हो भनेर यसको महत्तालाई कम आँक्नेहरु समाजमा छन् । तर, समाजमा भएको फोहोर फ्याँक्न पनि राजनीति नै चाहिन्छ भन्ने बुझाउन जरुरी छ ।
नेपाली कांग्रेस झापाको भर्खरै सम्पन्न जिल्ला अधिवेशनका कारण विर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पस परिसर फोहोरले ढाकियो । तर, यो फोहोरले समाजमा दुर्गन्ध फैलाउनु अघि केही अयिभन्ताले यसलाई सफा बनाए ।
पानीका खाली बोतल, पर्चा पम्प्लेटका टुक्रा, पराग र गुट्खाका खोल त कत्ति हो कत्ति । अनि उम्मेद्वारले टाँगेका व्यानर र फ्लेक्स बोर्ड जताततै । यी सबै आज विहान हटाएर क्याम्पस परिसर र बाहिर सफा बनाइएको छ ।
यो सफाइ अभियानको नेतृत्व लिएका छन् नेपाली कांग्रेस झापाका नवनिर्वाचित जिल्ला सदस्य नरेश मोहराले । उनी लामो समयदेखि झापामा सामाजिक अभियन्ताको रुपमा चिनिएका छन् ।
गत शुक्रवार क्याम्पसमा चुनाव भएको थियो । उम्मेद्वार र तिनका समर्थकले चुनावको नशामा फोहोर बढाए । तर, यो ठाउँ शिक्षाको पवित्र मन्दिर पनि हो भनेर बिर्सिए ।
चुनाव सकियो । जित्नेहरु फुलमाला लगाएर बाहिरिए । हार्नेहरु निराशा बोकेर फर्किए । रह्यो त्यहाँ फोहोरको डुङ्गुर । यही बीचमा धुलावारीका मिलनराज प्रसाईले फेसबुकमा यत्रतत्र फोहोर छाडिएको फोटोमा सानो कमेन्ट पोस्ट गरे । पोस्ट धेरैले पढेर केही कमेन्ट थपे । कतिले सरापे, कतिले गिज्याए ।
भर्खरै जिल्ला सदस्य पदमा चुनाव जितेका सामाजिक अभियन्ता नरेश मोहरालाई भने यो दृश्यले भत्भति पोल्यो । उनी चुपचाप बसेनन् । सामाजिक सञ्जालमै उनले सोमवार विहान सरसफाइ गरिने सूचना दिए ।
यही सूचनाका आधारमा क्याम्पस परिसरमा आज विहान क्याम्पसका प्राचार्य मोहन शिवाकोटी, समाजसेवी तथा कांग्रेस नेता शेरबहादुर थापा लगायत दर्जनौं नेता तथा कार्यकर्ता भेला भएर फोहोर उठाए ।
राजनीतिक दलको कार्यक्रममा हुने फोहोर दलका कार्यकर्ता आफैले उठाउनु पर्दछ भन्ने सन्देश दिन अभियन्ता मोहरा सफल भएका छन् ।
यसैबीच, चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनपछि त्यहाँको फोहोर एमालेका युवा कार्यकर्ताले सफा गरेका थिए । यो पनि उदाहरणीय कार्य हो ।
दलसँग व्यापक संगठन छ । जोश र जाँगरले भरिएका हजारौं युवाको सञ्जाल छ । चाहेमा दलले आफ्ना कार्यक्रमका फोहोर मात्र होइन, अहिले विर्तामोड लगायतका सहरी क्षेत्रमा छरपस्ट फोहोर उठाउने अभियान पनि सञ्चालन गर्न सक्छन् ।
Discussion about this post