मदरगाछ, १३ मंसिर । अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा झापा गाउँपालिकाले कचनकवल गाउँपालिकालाई पराजित गरेको छ ।
झापा–७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा झापा गाउँपालिकाले कचनकवललाई ६३ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।
११३ रनको विजयी लक्ष्य पछ्याएको कचनकवलले १५.४ ओभरमा सबै विकेट गुमाई ४९ रन मात्र बनाउन सक्यो ।
झापाका तर्फबाट नागेन्द्र गणेशले ४६ बलमा सर्वाधिक ४१ रन जोडे, निरज यादवले १९ बलमा १८ रन,प्रदिप कुमारले १७ बलमा १७ रन बनाएका थिए ।
कचनकवलको बलिङ तर्फ उपेन्द्र साहले १ विकेट, राकेश साहले ३ विकेट, राजेश साहले १ विकेट र दिपेशले १ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच झापाका सर्वाधिक रन बनाउन सफल नागेन्द्र गणेश घोषित भए ।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं ७ को संयुक्त आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गरेका थिए ।
सगरमाथा युथ क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, वडा १ का वडाध्यक्ष राजकुमार यादव, समाजसेवीहरु सखिचन्द्र ठाकुर, छत्र पाण्डे, डिल्लीराम चुडाल, तेज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मुक्ति बानियाँले सञ्चालन गरेको कार्यक्रममा सखिचन्द्र ठाकुरले स्वागत मन्तब्य राखेका थिए । प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् । समूह “क“ अन्तरगत झापा गाउँपालिका, कचनकवल गाउँपालिका, कनकाई नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब छन ।
त्यस्तै समूह “ख“ अन्तरगत शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार र दोस्रो पुरस्कार २५ हजार नगदसहित ट्रफी रहेको छ । त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच, प्लेअर अफदी टुर्नामेन्ट, वेस्ट वलर, वेस्ट व्याट्समेन्ट, वेस्ट किप्पर, वेस्ट फिल्डर, फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ ।
Discussion about this post