झापा, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्गदेनले आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताएका छन् ।
शुक्रबार भृकुटी मण्डप स्थित निर्वाचन कार्यालय पुगेर अध्यक्षमा उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ ।’
उनले राप्रपामा अब फोड्ने होइन जोड्ने काम मात्रै बाँकी रहेको बताए । नेता लिङ्देनले भने, ‘राप्रपामा नयाँ नेतृत्व आए फुटको चरण अन्त्य हुन्छ । अब मात्र जोड्ने काम बाँकी रहन्छ ।’
उनले देशभर राप्रपा सकिँदै जाँदा झापामा क्रियाशील सदस्यता धेरै रहेको दाबी गर्दै अब देशभरि नै राप्रपा शक्तिशाली हुने बताए ।
उनले भने, ‘राप्रपा अझैसम्म राष्ट्रिय पार्टी बन्न सकेको अवस्था छैन । तर पनि म झापाबाट ५० हजार भोट ल्याएर जितेर देखाएँ । झापामा राप्रपा बलियो हुँदैछ भने अब देशभर किन हुन सक्दैन ?’
उनले राप्रपामा नयाँ नेतृत्व आए ६ महीनाभित्र देशको प्रमुख शक्ति बन्ने दाबी गरे ।
Discussion about this post