मेचीनगर, ४ पुस । मेचीनगर निवासी नासाका वैज्ञानिक डा.प्रकाश श्रेष्ठलाई रोटरी क्लब अफ काँकरभिट्टाले आज सम्मान गरेको छ ।
आइतबार साँझ ग्रेस होटलमा आयोजना गरिएको एक कार्यक्रममा मेचीनगर–६ काँकरभिट्टा निवासी असोकुमार श्रेष्ठका छोरा नासाका वैज्ञानिक डा.श्रेष्ठलाई रोटरी क्लब काँकरभिट्टाले सम्मान गरेको हो ।
वैज्ञानिक श्रेष्ठलाई रोटरी क्लब काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकी लगायत पूर्व अध्यक्षहरुले खादा र मायाको चिनो दिएर सम्मान गरेका थिए ।
रोटरी क्लब काँकरभिट्टाका सदस्य समेत रहेका नासाका वैज्ञानिक श्रेष्ठले कार्यक्रममा प्रोजेक्टर मार्फत आफ्ना अनुभवहरुको बारेमा जानकारी गराएका थिए ।
वैज्ञानिक श्रेष्ठले नर्सरीदेखि कक्षा १ सम्म सुर्योदय बोडिङ स्कुल, १ देखि १० कक्षासम्म नर्थपोइन्ट बोडिङ स्कुल, काठमाडौँको सेन्जिवीयर्स कलेजबाट फिजिक्स विषयमा गोल मेडालिस्ट, पुल्चोक ईन्जिनियर कलेजबाट व्याचलर, नेपालमा हुँदा विभिन्न मेकानिकल कम्पनीहरुका विषयमा अध्ययन अनुसन्धान गरेका थिए ।
नेपालबाट अमेरिका पढ्न जाँदा स्कलरसिप नपाएपनि अमेरिकाको मिट कलेजबाट पीएचडी गरे । त्यहाँ हुँदा उनले ह्विलचियर लगायत अन्य विषयमा ईन्टरसिप गरे । त्यसपछि उनि अमेरिकाको क्याालिफोर्निया स्थित नासा लेङ्ग्रीमा रकेट र मिसायल सम्बन्धी अध्ययन गरेका थिए ।
हाल उनि नासाको एम्स रिसर्च सेन्टरमा सिनियर वैज्ञानिक भएर काम गरिरहेका छन् । उनले त्यहाँ अहिले रकेटको ईन्जिनको भित्री भागको अध्ययन अनुसन्धान गरिरहेका छन् ।
‘सानैमा टिभीमा हेर्दा जहाज, गाडीहरु कसरी बनाएको रहेछ, कसरी गुड्छ, उड्छ भन्ने विषयमा चासो हुन्थ्यो’ वैज्ञानिक श्रेष्ठले भने–‘म पनि त्यो ठाउँमा पुग्छु, जहाज, गाडी बनाउन सक्छु होला भन्ने एउटा सपना थियो । आज त्यो ठाउँमा पुगेको छु । यो ठाउँमा पुरयाउने आमा–बाबा र अमेरिकाका रकेट र मिसायलका विशेषज्ञ गुरु डा.ग्राम भि केन्डलरलाई धेरै धेरै धन्यवाद दिन्छु ।’
कार्यक्रममा रोटरी क्लब काँकरभिट्टाका भावि अध्यक्ष सुजन प्रधानले वैज्ञानिक श्रेष्ठका विषयमा प्रकाश पारेका थिए ।
रोटरी क्लब काँकरभिट्टाका अध्यक्ष बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत पूर्व अध्यक्ष मोहन निरौला र सञ्चालन सचिव उदय श्रेष्ठले गरेका थिए ।
Discussion about this post