मेचीनगर, ६ पुस । मेचीनगरमा आधुनिक कृषि पूवार्धारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ धुलाबारीमा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने ‘मेचीनगर कृषिमण्डी’ आयोजनाका लागि मेचीनगर नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ ।
आज नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख बिमल आर्चायबीच नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौता कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती र वरिष्ठ प्रशासकिय अधिकृत अन्न्तप्रकाश वस्तीको समेत उपस्थिति रहेको थियो ।
‘मेचीनगर कृषिमण्डी’ आयोजना निर्माणका लागि अनुमानित लागत बाह्र करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
कार्यक्रममा नगरप्रमुख आचार्यले यो आयोजना नगरपालिकाको बृहद् नमूना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा सयममा सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने यस आयोजनाबाट मेचीनगर नगरपालिका एक व्यस्थित राष्टिय तथा अन्तराष्ट्रिय व्यापािरक केन्द्रको रुपमा सबल हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
Discussion about this post