झापा, ११ पुस । नेकपा एमालेले प्रदेश र जिल्ला अधिवेशनका लागि नौ बुँदे मापदण्ड तोकेको छ ।
केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तीमा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकिएको हो ।
एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ ।
१) जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने ।
२) अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीले तय गर्ने ।
३) जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने ।
४) मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने ।
५) जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने ।
६) अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने ।
७) सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने ।
८) निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने ।
९) अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।
Discussion about this post