काँकरभिट्टा, १४ पुस । काँकरभिट्टा बहुमुखी क्याम्पसको २३ औँ वार्षिकोत्सव तथा चौथो क्याम्पस सभा आज सम्पन्न भएको छ ।
सभाले कमल थापालाई पुनः सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । थापाको अध्यक्षतामा क्याम्पसको पदेन सदस्यसहित १५ जनाको सञ्चालक समिति समेत गठन भएको हो । सञ्चालक समितिको कार्यकाल ३ वर्षको रहने छ ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर ४ का अध्यक्ष नबिन बराल, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, सञ्चालक सदस्य सुशील आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले क्याम्पसले प्रकाशन गरेको क्याम्पस दर्पणको संयुक्तरुपमा विमोचन गरेका थिए । पुस्तकका बारेमा सम्पादक हेमकुमार खड्काले चर्चा गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले, सामाजिक परीक्षण समितिको प्रतिवेदन समितिका सदस्य हेमा सिटौलाले, आर्थिक वर्ष २०७७÷०७८ लेखा परीक्षण प्रतिवेदन सहायक क्याम्पस प्रमुख बासुदेव कोइरालाले, आर्थिक वर्ष २०७८÷०७९ बजेत तथा कार्यक्रम सञ्चालक सदस्य भगिरथ भण्डारीले प्रस्तुत गरेका थिए ।
सञ्चालक समिति गठन प्रस्ताव समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पस विधान संशोधन प्रस्ताव तथा सञ्चालक दिलिपजंग सुब्बाले क्याम्पसको रणनीतिक योजना प्रस्तुत गरेका थिए ।
सो अवसरमा साँस्कृतिक कार्यक्रमसहित विभिन्न जातजातिको पहिचान झल्किने खालका गीत, कविता, वक्तृत्वकला र नृत्य प्रतियोगिताहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न विधमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षय कोषमा विभिन्न दाताहरुबाट ७० लाख ७५ हजार रुपैयाँ घोषणा भएको जनाएको छ ।मेचीनगरका विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधिहरुसहित ३४ जना दाताहरुले अक्षय कोषमा सो रकम घोषणा गरेका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटा तथा सञ्चालन क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र अतिरिक्त क्रियाकलाप विभागका संयोजक लम्बोदर पौडेलले संयुक्तरुपमा गरेका थिए ।
Discussion about this post