मेचीनगर, २६ पुस । मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरले आफ्ना संस्थाका ५ जना ज्येष्ठ सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान’ प्रदान गरेको छ ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न संस्थाको १४औँ वार्षिक साधारण सभाका अवसरमा झरसिहं कार्की, रेवकुमारी आचार्य, विष्णुमाया विश्वकर्मा, हरिप्रसाद प्रसाई र ठुली तामाङलाई ‘ज्येष्ठ सदस्य सम्मान’ प्रदान गरेको हो ।
साधारण सभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, विशिष्ट अतिथि संस्थापक अध्यक्ष नारायण प्रसाईले जनही नगद २ हजार रुपैयाँ, दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए ।
नगरप्रमुख आचार्यले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई जन्मेदेखि मृत्यु भईञ्जेलसम्म साथ सहयोग गर्नुपर्ने बताए ।सवैले एक आपसमा सहकार्य गरेर गरिने जुनसुकै कार्य नै सहकारी भएको भन्दैं नगरप्रमुख आचार्यले अब सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी बन्नुपर्नेमा जोड दिए । सहकारीले हरेक समुदायको जीवनस्तरमा सुधार्न मात्र नभई देश विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको तर्क थियो ।
मासु हरेक उपभोक्ताहरुको स्वास्थ्यसँग जोडिएकाले सफा, शुद्घ मासु हरेक उपभोक्तालाई उपलब्ध गराउन सहकारीलाई नगरप्रमुख आचार्यले आग्रह गरे ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दीपेन्द्र कार्कीले हरेक सहकारी संस्थाका अभिलेख चुस्तदुरुस्त राख्न सुझाव दिए । उनले २०७४ सालमा सहकारी ऐन, २०७५ मा विनियम र २०७६ मा मेचीनगर नगरपालिकामा स्थानीय सरकारको सहकारी ऐन आएको बताए ।
सहकारी विभागले नगरक्षेत्रभित्र ७७ वटा सहकारी रहेको अभिलेख नगरपालिकालाई दिइएको भएपनि अहिले ३२ वटाले मात्र समयमा रिपोर्ट बुझाउने गरेको कार्कीको भनाइ छ । सरकारी अनुदान प्राप्त गर्ने बेलामा सहकारी धेरै उम्रिने तर वार्षिक रिपोर्ट बुझाउने बेला धेरै हराउने अहिले सहकारी क्षेत्रको ज्यादैं ठूलो समस्या भएको उनको बुझाइ छ ।
संस्थाका अध्यक्ष भगिरथ राईले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ को कहरको प्रभाव छुटपुटमात्रमा रहिरहेको भएता पनि संस्थाले आर्थिक वर्ष २०७७÷०७८ असार मसान्त सम्मको आर्थिक कारोबारको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
२०७८ साल असार मासन्तको वासलात, पूँजी तथा दायित्व लगायतका विषयमा प्रतिवेदनमा समेटिएको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तावित कार्यक्रम र बजेट समेत उनले प्रस्तुत गरेका थिए ।
व्यवस्थापक अनिता गरागाईँले सञ्चालन र उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेको उद्घाटन सत्रमा विशिष्ट अतिथि संस्थापक अध्यक्ष नारायण प्रसाई, मेचीनगर वडा नम्बर ६ का वडा सदस्य सावित्रा ल्वागुन, मखमली बचत तथा ऋण सहकारी संस्थाका सीता गुरुङ, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दिलीपजंग सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बन्द सत्रको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक दुर्गाबहादुर लुईटेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
Discussion about this post