झापा, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको हो ।
‘आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘एकैचरणमा निर्वाचन हुन्छ ।’ यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए । आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए ।
प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए ।
प्रतिपक्षी दल एमालेले स्थानीय चुनाव समयमै हुनुपर्ने बताइरहेको थियो । एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले आन्दोलन पनि गरिरहेका थिए ।
सत्तारूढ कांग्रेसभित्र पनि वैशाखमै निर्वाचन गर्नुपर्ने आवाज उठेको थियो । नेता शेखर कोइराला पक्षका नेताहरूले समयमै निर्वाचन गरिनुपर्ने दबाब दिइरहेका थिए ।
सरकारले भने स्थानीय तह निर्वाचन ऐन २०७३ र संविधानको व्यवस्था बाझिएको भन्दै बाझिएको हकसम्म संशोधन गर्ने तयारी पनि गरेको थियो । केही संविधानविदहरूले ऐनलाई संशोधन गरेर संविधान अनुसार बनाउनुपर्ने सुझाव पनि दिएका थिए ।
०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भने जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिएको थियो ।
Discussion about this post