झापा, २६ माघ । काँकरभिट्टामा बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति म्याग्दीबाट पक्राउ परेका छन् ।
आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराईएको हो ।
जिप्रका र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोका मगरलाई माघ २१ ग्ते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका रोका म्याग्दीको रुम स्थित मालिका गाउँपालिका–२ का स्थानीय हुन् । उनले पश्चिममा ढुगां उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीले दिएको छ ।
रोक्काले यसअघि ३ पटक विष्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्राएका थिए । त्यसबेला पनि भारतको दार्जिलिङ र काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रोका भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् ।
उनले नेपोलाइट र डिटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरि गरी पश्चिम ढुंगाखानीका ठेकेदारलाई ३५ सयसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताईएको छ ।
“यसअघि चर्चा भएजस्तो यो घटनामा भूमिगत समुहको संलग्नता देखिएन”, जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले भने– “घर आउँदा जाँदा अलिकति भएपनि कमाई हुने रहेछ । त्यसैले प्रायः घर आउँदा उक्त सामान ल्याउने गरेका रहेछन् । ”
यही माघ १८ गते मोचीनगर–७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।
Discussion about this post