झापा, २३ साउन । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँड गर्न गठबन्धनद्वारा गठित कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पहिलो बैठकले सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मा दिएको कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पहिलो बैठकमा सबैले आ–आफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ गते अर्को बैठक बस्ने कार्कीले बताए । यो कार्यदलले सिट बाँडफाँडको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेश गर्ने उनले जानकारी दिए ।
कार्यदलमा कांग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रमेश हमाल र बेदुराम भुसाल सदस्य छन् ।
कार्यदलमा जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।
Discussion about this post