भद्रपुर, २० भदौ । मानब बेचबिखन तथा ओसार पसार विरुद्धको १६ औँ राष्ट्रिय दिवसको अवसर पारेर सोमबार देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् ।
राष्ट्रिय दिवसको अवसरमा भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी भद्रपुर, सशस्त्र प्रहरी बल भद्रपुर, मानव अधिकारका लागि एकल महिला, मेची बहुमुखी क्याम्पस, विश्व सेवा लगायतका संघ–सस्थाको आयोजनामा दिवस मनाइएको हो ।
भद्रपुरमा र्यालीसहित नगर परिक्रमापछि मेची पुलमा कार्यक्रम गरिएको थियो । भद्रपुर नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष सीता गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा उपमेयर राधा कार्की थिइन् ।
कार्यक्रममा एबिसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, वडा प्रहरी प्रमुख सन्तोष बुढाथोकी, सशस्त्र प्रहरी सीमा प्रमुख रामकुमार घिमिरे, साना हात भद्रपुर स्टेसन म्यानेजर बिक्रम वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध, लागुऔषध बिरुद्धका नारा सहितका स्टिकर पम्पप्लेटहरु सवारी साधनमा टास्नुका साथै वितरण समेत गरिएको थियो ।
नेपाल तर्फको मेची पुल पश्चिम तथा भारतको विहार राज्यस्थित गलगलियाका केही स्थानहरुमा समेत मानव बेचबिखन बिरुद्ध र लागुऔषध बिरुद्धका चेतना मुलक पम्पप्लेट र स्टिकरहरु सवारी साधन र स्थानीय होटलहरुमा टासिएको आयोजकले जनाएको छ ।




Discussion about this post