मेचीनगर, ४ मंसिर । मतदान सकिएपछि झापा क्षेत्र नम्बर १ का मतदानस्थलबाट मतपेटिका ढिलो संकलन गरिएको छ ।
मतपेटिका ल्याउन ढिलो
आइतबार साँझ ५ बजे मतदान सकिएपछि झापा–१ का मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा ल्याउन ढिलो भएको हो ।
मतगणनास्थल नगरपालिका
झापा–१ को मतगणना मेचीनगर नगरपालिका कार्यालयको २ वटा कोठामा हुने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । आवश्यक परे अन्य कोठाहरु बढाउन सकिने उनको भनाइ छ ।
मतगणना भोली
‘मतगणना कार्य भोली मात्र हुनेछ’, महतले भने–‘जम्मा मत कति खस्यो अहिले थाहा हुँदैन । सबै मतदान केन्द्रको संख्या संकलन गर्न समय लाग्ने छ ।’
बालसुबोधिनि माविमा विवाद
मेचीनगर–१४ को बालसुबोधिनि माविमा राती ८ वजेसम्म मतदान भएको थियो । विहान सो मतदान केन्द्रमा प्रतिनिधि सभाको २१ जनाको मतपत्र प्रदेश सभाको बाकसमा परेपछि विवाद भएको थियो ।
त्यो मत छुट्टै बाकसमा राखिएको थियो । २१ जनालाई फेरि मतदान गर्ने सहमति भएपछि २ घण्टा स्थगित गरेपछि फेरि मतदान सुरु गरिएको थियो ।
सरस्वती प्राविमा विवाद
त्यस्तै मेचीनगर–७ को सरस्वती प्राविमा पनि सोहि प्रकारको विवाद भएपछि ४२ जनाको मत छुट्टै बाकसमा राखिएको थियो ।
झापा–१ मा ७२ प्रतिशत मत खस्यो
निर्वाचन अधिकृत महतका अनुसार ७२ प्रतिशतको हाराहारी मत खसेको अनुमान गरिएको छ । क्षेत्र नं. १ मा एक लाख २० हजार ७५४ जना मतदाता थिए ।
झापामा ६७ प्रतिशत मत खस्यो
यता मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले झापामा ६७ प्रतिशत मत खसेको बताएका छन् ।
झापामा मतदान शान्तिपूर्ण
आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो ।
मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका थिए ।
Discussion about this post