झापा, १० पुस । प्रदेश–१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बू याक्थुङले (लिम्बू) भाषामा शपथ लिनेछन् ।
प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा पाँच जनाले मातृभाषामा शपथग्रहण गर्ने जानकारी गराएका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे शपथग्रहण गराउनेछन् ।
मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Discussion about this post