मेचीनगर, २२ पुस । धुलाबारी मोड दक्षिणको पक्की नाली सारेर सडक साँघुरो बनाइएको विषयमा प्रश्न उठिरहेको बेला बाटोसँग जोडिएका एक जग्गाधनीले २०२१ सालको पैनी मिचेर महल बनाउँदा समस्या निम्तिएको दावी गरेका छन् ।
धुलाबारी दक्षिण जाने सडकको मुखैमा पश्चिमतिरका जग्गाधनी नरेन्द्रकुमार खड्काले उक्त दावी गरेका हुन् ।
सो सडकको पश्चिमतिरको भाग नम्बरी जग्गावालको र पूर्वतिरको भाग २०२१ सालको पैनीको भएको उनको जिकीर छ ।
‘चोकमा सडक साँघुरो भयो भने नम्बरी जग्गातिर विस्तार गर्ने कि २०२१ सालको पैनी भएको भागतिर ?,’ अहिले सडक निर्माणमा भइरहेको गतिविधिमा आफुहरुको कुनै दवाव र प्रभाव नरहेको जनाउँदै उनले भने–‘२०२१ सालको पैनी मासेर घर बनाउन दिने अनि नम्बरी जग्गातिर सडक बढाउने कुरा कतिको मनासिब हुन्छ, नगरपालिकाले यस विषयमा न्याय दिनुपर्छ ।’
धुलाबारीको पुरानो बासिन्दा र सामाजिक व्यक्तित्व खड्काले न्याय खोज्ने र पाउने ठाउँ कतै नदेखिरहेको टिप्पणी गरे । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई समेत यस विषयमा आफुले जानकारी गराएको उनको भनाई थियो ।
‘सडक फराकिलो बनाउने विषयमा हाम्रो कहिल्यै बिमति र असहयोग छैन,’ उनले भने–‘तर, २०२१ सालको पैनी कहाँ छ भनेर खोजी हुने हो भने सडकलाई सजिलै फराकिलो बनाउन सकिन्छ ।’
Discussion about this post