मेचीनगर, २५ पुस । मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई सोमबार नगरपालिका फर्किएका छन् ।
तर, नगरपालिकाले उनलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय समय भएपछि कार्यालय प्रवेश गरेका उनले उपप्रमुख मीना पोखरेल उप्रेतीसँग भेट गरेर हाजिर गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
उपप्रमुख उप्रेतीले फिर्ता पठाउने निर्णय भइसकेको हुँदा अहिले हाजिर गर्न मिल्दैन भनेर चौलागाईलाई फर्काइदिइन् ।
नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उनको अधिकारहरुसमेत खोसेको थियो ।
आज चौलागाई नगरपालिकामा हाजिर हुन आउँदा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी कार्यालयमा उपस्थित हुनुहुन्न थियो । मेयर बुढाथोकी काठमाडौँ गएको बुझिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत चौलागाईले नगरपालिका बोर्डबाट आफुलाई हटाइएको निर्णयको प्रतिलिपी मागेका छन् । उपप्रमुख उप्रेतीले दिउँसो नगरप्रमुख आएपछि सल्लाह गरौला भनेर चौलागाईलाई भनेको स्रोतले जनाएको छ ।
चौलागाई आफुलाई नगरबोर्डले फिर्ता पठाउन नसक्ने भन्दै अदालतमा जाने तयारीमा रहेको उनका निकटहरु बताउँछन् ।
Discussion about this post