मोरङ, १८ फागुन । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् ।
सुनवर्सी नगरपालिका–१ का डिल्लीबहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केकोमा फर्केर नआएपछि आफन्तले खोजतलासको क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सूचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी गराइएको थियो ।
प्रहरी अधिकृत समेतको टोली सो स्थानमा गई उत्खनन गर्दा बालकको शब फेला परेको थियो । बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनकी श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post