मेचीनगर, १९ फागुन । मेचीनगर–३, बडाखाल स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
स्व.रणवीर–रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती, अभिभावक तथा अतिथिहरुको उत्साहका साथ वार्षिकोत्सव सम्पन्न भएको हो ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोल भव्य बनेको थियो ।
कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले चरा अभियन्ता देवेन्द्र खरेल, हात्ती नियन्त्रण तथा मानव हात्ती द्धन्द व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाहगर्दै आएका हात्ती अभियन्ता शंकर लुइँटेल र समाजमा नाट्यविद्याबाट जनचेतना जगाउँदै आएकी परिवर्तन थिएटरकी संस्थापक अध्यक्ष कविता नेपाललाई सम्मान गरेको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल डम्बर रुचालको सभातित्व तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले व्यवहारीक र बैज्ञानिक शिक्षामा जोड दिए । उनले निजी विद्यालयहरुले विद्यार्थीको क्षमता विकासका लागि गरेको योगदानको खुलेर प्रशंसा गरे ।
विद्याथीको प्रतिभा देखेर उत्साहित बनेका प्रमुख अतिथि बुढाथोकीले शिक्षाको गुणात्मक सुधारको लागि नगरपालिका लागि परेको बताए । कार्यक्रमका विषेश अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले संस्कारमुलक शिक्षा आजको आवश्यक्त भएकोमा जोड दिए ।
कितावी ज्ञानले मात्र जीवन सफल नहुने बताएका वडाध्यक्ष कार्कीले अतिरिक्त क्रियाकलपका साथै कला र संस्कृति अनि पर्यावरण जोगाउने अभियानमा अभिभावक तथा विद्यार्थीलाई सचेत गर्नुपर्ने दायित्व शिक्षकको काँधमा आएकोे बताए । उनले स्वस्थ्य जीवन जिउन खानपानमा समेत ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्याव्सनका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक गुणस्तर र उनीहरुको क्षमता विकासका लागि चुनौतिका बाबजुत महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा प्याव्सन झापाका सचिव एच के पाठक, मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत, २ का वडाध्यक्ष दीपक बराल, नवज्योती युवा क्लबका अध्यक्ष सुमन थापा, एनप्याब्सन मेचीनगर अध्यक्ष भगीरथ राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्मका कक्षा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो भने भलिवल विद्यामा सक्रिय सहभागिता जनाउँदै आएका कक्षा ७ र ८ का छात्राहरुलाई हौसला स्वरुप जर्सीप्रदान गरेको छ ।
त्यसैगरी फुटवल विद्यामा उत्कृष्ट विद्यार्थी रविन पौडेललाई बुट प्रदान गरिएको थियो । विद्यालयले पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । विजनेश स्टडी सिकाइ अन्तर्रगत विद्यार्थीहरुले लक्की ड्र कार्यक्रम समेत सञ्चानल गरेको थियो । त्यस्तै संगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कक्षा ६ का विद्यार्थी दिक्षन तामाङलाई गीतार दिएर प्रोत्साहित गरिएको थियो ।
विद्यालयकी संथापक अध्यक्ष विनिता बराइलीले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक अनिल लोहारले गरेका थिए ।
यस्तै सांगितिक तथा अन्य विविध कार्यक्रमको सञ्चालन कक्षा–१० का विद्यार्थीहरु बसन्त राई र श्रृनिका बानियाँले गरेका थिए ।
Discussion about this post