काँकरभिट्टा, ८ चैत । मेची भन्सार कार्यालयले मेचीपुल स्थित एसियन हाइवे भएर भित्रिने सवारी साधनलाई यात्रु शाखामा लगेर चेकजाँच गर्न थालेपछि विरोध भएको छ ।
राजनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरुले एसियन हाइवे हुँदै भित्रिने गाडीहरुलाई जाँच गर्दा झञ्झटिलो भएको गुनासो गरेका छन् ।
भन्सारले भारतबाट भित्रिने मालवाहक गाडीलाई दक्षिणतिरको मूल भन्सार कार्यालय परिसरमा र सवारी साधनलाई उत्तरतिरको यात्रु शाखाको परिसरमा लगेर बिगत पाँच दिनदेखि चेकजाँच गरिरहेको छ ।
व्यवसायी तथा गाडी चालकहरुले यात्रु शाखामा लगेर जाँच्ने भन्सारको नयाँ नियमबाट सास्ती भएको बताएका छन् । तर, भन्सार प्रशासनले केही दिनको परीक्षणका लागि मात्र यो व्यवस्था लागू गरिएको जनाएको छ ।
‘आउँदो आइतबारसम्म यही व्यवस्था लागू हुन्छ, त्यसपछि खुला भइहाल्छ,’ भन्सार प्रशासनले भन्यो–‘गाडी चेकजाँच गर्दा आत्तिहाल्नु पर्दैन । परीक्षणका लागि मात्र नयाँ नियम लगाइएको हो ।’
भारतबाट हाइवे हुँदै सिधै नेपाल भित्रिने गाडीहरुले भन्सार छलेर सामान ल्याउन थालेको जानकारी आएपछि यात्रु शाखामा लगेर जाँच्ने व्यवस्था गरिएको भन्सारको दावी छ ।
यात्रु शाखामा गाडी लैजाँदा चेकजाँच कडा हुने गरेको व्यवसायीहरुको गुनासो छ । तर, भन्सार प्रशासनले भारतबाट एसियन हाइवे हुँदै सिधै भित्रिने गाडीमा महँगो मूल्यका मदिरा भन्सार छलेर ल्याइने गरेको जनाएको छ ।
राजस्व नतिरी मालबस्तु भित्रिदा राज्यलाई हुने नोक्सानी रोक्न चेकजाँचमा कडाई गरिएको हुँदा यसलाई सकारात्मक रुपमा लिइदिन भन्सार प्रशासनले आग्रह गरेको छ ।
भन्सारले चेकजाँचको नयाँ नियम लागू गरेपछि व्यवसायीहरुले प्रहरी, प्रशासन र दलका नेताहरुलाई समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
मेची भन्सार प्रमुख रामप्रसाद पाठकका अनुसार राजश्व चुहावट रोक्न, सुरक्षा र दुर्घटना न्युनिकरण गर्न पनि केहि समयलाई चेकजाँचमा कडाई गरिएको हो ।
दुई पाङ्ग्रे, तीन पाङ्गे्र, चार पाङ्गे्र र मालबाहक सवारी साधानलाई व्यवस्थित गर्न पनि हप्ता दिनलाई रुट परिवर्तन गरेर परीक्षण गरिएको भन्सार प्रमुख पाठकको भनाई छ ।
Discussion about this post