काँकरभिट्टा, २१ चैत । मेचीनगरमा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ ।
सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन कोशी प्रदेशकी सांसद विद्या चाम्लिङ राईले गरेकी थिइन् ।
कार्यक्रमकी प्रमुख अतिथि सांसद राईले हाम्रो समाजमा अहिले पनि महिलाहरुलाई कमजोर ठान्ने गरिएको बताइन् । उनले किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरु कमजोर नहुने बताइन् ।
उनले सुरूवात चरणमा मेचीनगरले विद्यालय स्तरमा अध्यायनरत किशोरीहरूलाई सेल्फ डिफेन्स तालिमको व्यवस्था मिलाएकोमा प्रशंसा गरिन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले डेढ महिने सेल्फ डिफेन्स तालिमले नगरका किशोरीहरूलाई आत्मारक्षामा टेवा पुग्ने बताए । किशोरीहरूको आत्माबल उच्च हुँदा पनि समाजमा धेरै हतसम्म महिला हिंसा कम हुने उनको भनाई छ ।
त्यस्तै उपमेयर मीना पोखरेल उप्रेतीले विभिन्न बहानामा महिलाहरू हिंसामा पर्ने गरेको बताउँदै समाजमा त्यस्ता महिला हिंसा अन्त्यका लागि पनि सेल्फ डिफेन्स तालिम प्रभावकारी हुने बताइन् । साथै उनले किशोरीहरू कोमल हुन्छन् तर, कमजोर हुँदैनन् भन्ने बुझाउन पनि यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरिन् ।
काँकरभिट्टा फिट्नेस सेन्टर मेचीनगर–६ को आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरकार्यपालिका सदस्य हृदय राजवंशी, चित्र धिमाल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, शाखा अधिकृतहरु दिपेन्द्र कार्की, राजन भेटवाल, इन्दिरा खरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेचीनगरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
काँकरभिट्टा फिट्नेस सेन्टरका अध्यक्ष अर्जुन क्षेत्रीको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन उपमेयरका स्वकीय सचिव लक्ष्मी उप्रेतीले गरेका थिए ।
Discussion about this post