भद्रपुर, २१ चैत । जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका भद्रपुर–२ का प्रेमबहादुर तामाङलाई अदालतले धरौटीमा रिहा गरेपछि त्रासका कारण पीडित महिलाले गाउँ छाडेर हिँड्नु परेको छ ।
पीडित महिला (अदालतले राखिदिएको नाम : ड–०७९८०)ले आज भद्रपुरमा पत्रकार सम्मेलन गरी रुँदै रुँदै आफ्नो पीडा सुनाएकी छन् ।
पति वैदेशिक रोजगारीमा रहेको पीडित महिलाको साथमा १० वर्षको छोरो हुर्किरहेको छ । ज्यान मार्ने डर, त्रास र धम्की दिएर आफुलाई तामाङले पटक–पटक बलात्कार गरेको उनले बताइन् ।
बलात्कार गरेको भिडियो समेत खिँचेका आरोपितले ब्ल्याकमेलिङ गर्दै आफुसँग अहिलेसम्ममा १३ लाख रुपैयाँ नगद र तीन तोला सुन समेत लगेको दावी गरेकी छन् ।
हदैसम्म त्रास र ट्रयापमा पारेका आरोपित तामाङले उक्त भिडियो कुवेतमा रहेका पीडितको पतिको मोवाइलमा पठाइदिएपछि असह्य भएर पीडितले प्रहरी गुहारेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय झापामा गत मंसिर २३ गते जबर्जस्ती करणीको अभियोगमा जाहेरी दर्ता गराएपछि तामाङ पक्राउ परेका थिए । प्रहरीको हिरासतमा २५ दिन बिताएका आरोपितलाई अदालतमा पेश गरिएपछि पुर्पक्षका लागि कारागार चलान समेत गरिएको थियो ।
पीडितले बताए अनुसार कारागारमा बसेको दुई दिनपछि आरोपित तीन लाख धरौटीमा छुटे । धरौटीमा छुटेर गाउँमा खुल्लम्खुल्ला आरोपित हिँड्न थालेपछि पीडित महिला डरले गाउँ छाडेर हिँडेकी छन् ।
‘पहिलेदेखि नै मार्छु भन्थ्यो, अहिले पनि मैले सबै मिलाइसकेको छु मलाई कसैले केही गर्न सक्दैन भन्दै हिँड्छ रे,’ पीडितले रुँदै रुँदै पत्रकार सम्मेलनमा भनिन्–‘उसले मेरो इज्जत लुट्यो । मेरो पतिले विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति लुट्यो । अहिले मेरो घर बिगार्यो । मेरो इज्जत लुट्नेलाई अदालतले धरौटीमा छाडिदिए पछि मैले घरमा बस्ने अवस्था छैन ।’
गत कार्तिक २८ गते त्रासमा पारेर भद्रपुरको एक होटलमा पुर्याएर कुटपिट गरी आरोपित तामाङले पछिल्लोपटक जबर्जस्ती करणी गरेको र भिडियो समेत बनाएको उनले बताइन् । आरोपित तामाङ पनि विवाहित व्यक्ति हुन् ।
झापा जिल्ला अदालतबाट जबर्जस्ती करणीका आरोपितलाई धरौटीमा रिहा गरिएपछि आफु न्याय खोज्दै इलाम पुनरावेदन अदालत गएको पीडित महिलाले बताएकी छन् । हाल जबर्जस्ती करणी सम्बन्धी सो मुद्धा झापा र इलाम दुबै अदालतमा विचाराधीन छ ।
Discussion about this post