सिक्किम, २२ चैत । सिक्किमको गान्तोक स्थित नाथुला सडक–खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका उच्च अधिकारीले बताएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
गान्तोक जिल्लाका कलेक्टरले सार्वजनिक गरेको मृतक र घाइतेहरुको नामावलीमा ३ जना नेपालीको मृत्यु र तीन जना नेपाली घाइते भएको उल्लेख छ ।
घाइते हुने नेपालीहरुमा ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीया ज्योती गुरुङ र ४३ वर्षीय रमेश खनाल छन् । उनीहरुको ठेगाना ‘नेपाल’मात्र लेखिएको छ र अस्पताल भर्ना भएको उल्लेख छ ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुला जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको छ । अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
Discussion about this post