मेचीनगर, २८ चैत । कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक एवम् प्रशिक्षक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताएका छन् ।
आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको हलमा प्रेस क्लब मेचीनगरले आयोजना गरेको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रममा उनले त्यस्तो कुरा बताएका हुन् ।
उनले सत्यतथ्य र प्रमाणित विषयहरुलाई समाजमा स्पष्ट रुपमा पस्कीन पत्रकारहरुले डराउन नहुने बताए ।
तालिमका अर्का प्रशिक्षक दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्यायले पत्रकारहरुले पत्रिका मात्र पढ्ने होइन, कितावहरु समेत पढ्नु पर्नेमा जोड दिएका थिए ।
‘हामीले लेखेका कन्टेन्टहरु भन्दा कमेन्टहरु राम्रा हुन्छन्’, उपाध्यायले भने–‘हामीले गरेका केहि कमी कमजोरीलाई आत्मालोचनासहित नयाँ सामाग्री पस्कीनु पदर्छ ।’
समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागीका तर्फबाट माया मितु न्यौपाने तथा भारत सिलीगुडीका पत्रकार प्रशान्त आचार्य लगायतले बोलेका थिए ।
तालिममा भारत र झापाका करिव ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसअघि उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका मेयर गोपाल चन्द्र बुढाथोकी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता, स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
Discussion about this post