मेचीनगर, २९ चैत । मेचीनगर–७ का क्यान्सर संक्रमित ७० वर्षीय धनबहादुर खत्रीको उपचारका लागि सहयोग गर्न परिवारजनले अपिल गरेका छन् ।
प्यारीभिट्टा घर भएका खत्री घाँटीको क्यान्सरबाट संक्रतित भएका छन् । विगत पाँच महिनादेखि उपचारमा खर्च गर्दा भएको सबै जायजेथा सकिएपछि उनकी छोरी तारा तिम्सिनाले थप उपचारका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी हुन् ।
पाँच महिनाअघि घाँटीको बाहिर पट्टि सानो फोको देखिएपछि उनलाई परिवारले उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।
अस्पतालका चिकित्सकले उनलाई क्यान्सर लागेको र थप उपचारका लागि भरतपुर लैजान सल्लाह दिएका थिए । चिकित्सककै सल्लाहमा भरतपुर र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उनको उपचार भइरहेको छ ।
आर्थिक अवस्था कमजोर रहेको परिवारले पाँच महिनामा उपचारमा करिब ७ लाख भन्दा बढी खर्च भइसकेको छोरी तिम्सिनाले बताइन् ।
‘हामीसँग भएको सबै सम्पत्ति उपचारमा सकियो, सरकारबाट पाउने एक लाखको पनि औषधि गराइसक्यौं’, धुलाबारी मोडमा चिया पसल चलाउँदै आउनु भएकी तिम्सिनाले भनिन्, ‘आर्थिक सहयोग गरेर मेरो बुबालाई बचाईदिनुस् ।’
उनका अनुसार विगतमा १० वटा जति केमोथेरापी गराउँदा उनलाई आराम भएको थियो । ‘डाक्टरले अब १० वटा फेरि रेडियोथेरापी गराउनुपर्छ जाति हुन्छ भन्नुभएको छ’,उनले भनिन् ‘त्यति गराउन दुई लाख तत्काल चाहिने भयो । हामीसँग पैसा छैन, कहाँबाट ल्याउनु ? आर्थिक सहयोग गरेर बचाईदिनुस् ।’
Discussion about this post