झापा, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायीसँग दुई करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेको छ ।
बुधबार बसेको रास्वपाको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ ।
श्रेष्ठले बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।
बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’
Discussion about this post